काठमाडौं । सरकारले भव्यताका साथ संविधान दिवस मनाउन आह्वान गरे पनि संविधानसँग असन्तुष्टि राख्दै आएका मधेशकेन्द्रित युवाहरूले बुधबार काठमाडौँमा संविधान जलाएर विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौँस्थित माइतीघरमा संविधान जलाएर विरोध गरेका १३ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
तराई मधेश राष्ट्रिय परिषद् (टीएमएनसी), युथ एसोसियसन अफ नेपाल (यान) र थरूहट-थारूवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा संविधानको विरोध गर्दै आजको दिनलाई ‘कालो दिन’को संज्ञा दिएका छन् ।
रगतले लत्पतिएको संविधान आफूहरूलाई स्वीकार्य नहुने यानका अध्यक्ष राहुलराज यादवले बताए । ‘जुन संविधान जनताको लासमाथि चढेर जारी भयो, जसले आम जनताको अधिकार समेट्न सकेन त्यो केही खास वर्गको स्वार्थसिद्धिको दस्तावेज मात्रै हुनसक्छ,’ यादवले भने, ‘त्यसैले आजको दिनलाई खुसियालीको रूपमा मनाउनुको कुनै औचित्य छैन, हामी विगत ८ वर्षदेखि नै कालो दिवसको रुपमा मनाउँदै आएका छौँ, जबसम्म यो संविधान सबै वर्गको अधिकार समेट्ने गरी आउँदैन तबसम्म स्वीकार्य हुँदैन।’
त्यस्तै टीएमएनसीका उपाध्यक्ष आभास गुरुले संविधानले मधेशको हकअधिकार स्थापित नगरेसम्म संविधान नस्वीकार्ने बताए ।