दिनेश शर्मा ,सिरहा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तीन दिने मधेस यात्रा थालेका छन् । पार्टी सभापति लामिछानेले सांसद मनिष झालाई साथमा लिएर आठ जिल्लाको तीन दिने यात्रा थालेका हुन् । तेस्रो दिन सिरहाको गोलबजारमा लामिछानेले सम्बोधन गरेका छन् ।
लामिछानेले सिरहाको गोलबजारमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइसकेको बताए । उनले भने ‘यो देशको भविष्य र मधेसको भविष्य बनाउन एकसय एक सक्षम युवा लिएर अगाडि बढ्छौँ ,’। मधेसका मुद्दालाई विगतमा पनि महत्त्व दिए पनि आफूलाई मधेस विरोधी भनिएको लामिछानेको गुनासो थियो ।
उनले भने, ‘मलाई पहिलेदेखि मधेस प्रति सहिष्णु छैन । मधेसप्रति चासो राख्दैन । मधेस विरोधी हो भनेर आरोप लगाइन्थ्यो । तर, मैले टेलिभिजनमा सबैभन्दा बढी मधेसको मुद्दा उठाउँथेँ,’ ‘चाहे मिटरब्याजीको कुरा होस, चाहे विदेशमा अलपत्र परेका युवालाई नेपाल ल्याउने कुरा होस् ।’
आफूमाथि उठेको प्रश्नको जवाफ कर्मबाट दिने निर्णय गरेको उनको भनाइ छ । मधेसलाई अब नेता उत्पादन गर्ने कारखाना होइन कृषि कारखाना बनाउनुपर्ने लामिछानेले बताए ।
यस्तै रास्वपाले तेस्रो दिन , सप्तरी र महोत्तरीमा सभा गर्ने सांसद मनिष झाले बताए ।
रास्वपाले मधेस यात्रापछि महोत्तरीको जलेश्वरमा मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।
उक्त बैठकमा पार्टीको महाधिवेशन विधि सम्बन्धी थप छलफल हुने रास्वपाले जनाएको छ । रास्वपाले पहिलो पटक मधेसमा पार्टीका केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गर्न लागेको छ ।