सते मण्डल
सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी देखाउने व्यक्ति पक्राउ परेका छन।
कल्याणपुर नगरपालिका -८ का मिटरब्याजीले पीडितलाई खुकुरी प्रहारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका -८ का रामबाबु साह रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
सोमबार दिउँसो साहले सोही ठाउँका मिटरब्याज पीडित सञ्जय कुमार कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले साहलाई मंगलबार पक्राउ गरेको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
सूचना अधिकारी पाण्डेका अनुसार मिटरब्याजसम्बन्धी उजुरीमाथि जिल्ला प्रशासन कार्यालय सिरहामा दुई पक्षबीच छलफल चलिरहेको छ । कामतीले आफ्नो घर मिटरब्याजीले बेचिदिएको भन्दै प्रशासन कार्यालयमा निवेदन दिएका थिए । सोमबार कामती उक्त घरमा प्रवेश गर्न खोजेका थिए भने साहको परिवारले उक्त घर किनेको भन्दै खुकुरी देखाएको प्रहरीले बताएको छ ।
‘पीडित कामतीले अर्कै साहुसँग घर पास गरेर ऋण लिएका थिए भने ऋण लामो समयसम्म फिर्ता नदिएपछि साहुले घर बेचिदिएका रहेछन्,’ पाण्डेले भने, ‘त्यसैबीच सञ्जयकुमार घरमा जाँदा त्यो घटना भएको बुझिएको छ । हामीले छलफल गर्न कामतीलाई पनि बोलाएका छौं ।’
बाँस काटिरहेको बेलामा उनीहरू पुगेको हुँदा खुकुरी देखाएको भिडियोमा देखिएको साहले बयान दिएको पनि उनले बताए । यसमा कति ऋण लिएको र कतिमा बेचेको भन्ने विवरण प्रहरीसँग नभएको उनले बताए ।
मिटरब्याज आरोपीले कब्जा गरेर राखेको घरमा जान खोज्दा आफूमाथि खुकुरी प्रहार गर्न खोजेको कामतीले बताएका छन् । उनका अनुसार पैसा तिर्न नसक्दा मिटरब्याज आरोपी मझाउ टोलका सुरेश पजियारले एक बिघा एक कट्ठा खेत र डेढ कट्ठा घडेरी जिल्ला अदालतबाट डाक गराएर आफ्नो नाममा ल्याएका थिए ।
तीमध्ये १० कट्ठा खेत र घरघडेरी पजियारले बेचिसकेका छन् । घरसमेत नरहेपछि कामती परिवार विस्थापित भएर जनकपुरमा डेरा लिएर बस्न थालेका छन् । कामतीले जग्गा बेचेर भएपनि पैसा तिर्ने बताउँदासमेत अदालतमा मुद्दा हालेर २०७८ सालमा घरजग्गा डाक लिलाम गरेर आफ्नो नाममा ल्याएको कामतीको भनाइ छ ।