दिनेश शर्मा
सिरहा, ४ माघ । भारतको अयोध्यामा जनवरी २२ मा हुन लागेको श्रीरामको प्राण प्रतिष्ठानले सिराहको गोलबजार पनि व्यापक प्रभावित भएको छ । प्राण प्रतिष्ठानको पूर्वतयारीमा बिहीबार गोलबजारको राम मन्दिरको प्राङ्गणबाट गाजाबाजा सहितको मोटरसाइकल तथा कार रैली निकाली गोलबजार नगरपालिकाको १३ वटै वडामा पुगी सम्पूर्ण वडावासीहरुमा माघ ८ को लागि राम मन्दिर गोलबजारमा आमन्त्रणा गरिएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर ४ का आनन्द यादवले भने, यो भव्य रैली गोलबजार नगरपालिकाको १३ वटै वडामा पुगी वडावासीहरूलाई माघ ८ मा हुने प्राण प्रतिष्ठानको लागि औपचारिक निमन्त्रणा दिएका हुन् ।गोलबजारका उद्योगी व्यापारी लगायतको सक्रियतामा वडाध्यक्षको हैसियतले कार्यक्रम सभ्य, भब्य र व्यवस्थित बनाउन सनातनी धर्मरक्षकहरूले सक्रियताका साथ लागेको आनन्द यादवले बताए । उनले भने, गोलबजार अहिले श्रीरामको प्राण प्रतिष्ठानले हर्षोल्लासमै बनेको छ । सबै सनातनी धर्मालम्बीहरुलाई कार्यक्रम सफल पार्न निमन्त्रणा पनि गरिएको छ ।
गोलबजार ४ स्थित रहेको राम मन्दिरको रङ्गीचङ्गी सिङ्गारिएको छ । आनन्द यादवले माघ ८ मा हुने कार्यक्रमको बारेमा भने, माघ ८ गते बिहान ११ बजे रथ शोभायात्रा रैली एवं झाँकी, दिउँसो २ बजे हवणकुण्ड, ३ बजे प्रसाद वितरणको कार्यक्रम रहेको सुनाए । त्यस्तै साँझ ५ बजे ११ हजार दीप प्रज्वलन तथा साँझ ६ बजे भजन तथा सांस्कृतिक कार्यक्रम रहने छ । साँझ सबैले कम्तीमा आफ्नो घर आँगनमा कम्तिमा ५-५ वटा दीप प्रज्वलन गर्नको लागि पनि अनुरोध गरेको छ ।