तौलिहवा, कपिलवस्तु –
कपिलवस्तु नगरपालिका–१, तौलिहवामा आयोजित एकदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य सेवामा पहुँच कम भएका स्थानीय बासिन्दा, विशेष गरी अति विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा ११५ जनाले प्रत्यक्ष लाभ लिएका छन्। उक्त शिविरको आयोजनामा सनलाइट सामाजिक विकास केन्द्रले नेतृत्व लिएको थियो भने आर्थिक सहयोग कपिलवस्तु नगरपालिका वडा नं. १ कार्यालयबाट प्राप्त भएको थियो। कार्यक्रमको समन्वय सारिम हस्पिटल प्रा.लि., तौलिहवा, कपिलवस्तुले गरेको हो।
शिविरको उद्घाटन वडा नं. १ का वडा अध्यक्ष मोहम्मद जाहिद खानले गर्नु भएको थियो। कार्यक्रममा डायनामिक सामाजिक विकास संस्थाका अध्यक्ष मोहम्मद इरफान मन्सुरी, कार्यपालिका सदस्य गोविन्द कहार, सारिम हस्पिटलका सञ्चालक जावेद अहमद लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वडाध्यक्ष खानले शिविर मार्फत सम्पूर्ण स्वास्थ्य सेवा, जस्तै औषधि, ल्याब परीक्षण, परामर्श लगायत सबै सेवा निःशुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँले विशेष गरी आर्थिक रूपमा कमजोर, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति नागरिकलाई लक्षित गरी यस्तो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो।
शिविरमा मुटु स्वास्थ्य सम्बन्धी विभिन्न परीक्षणहरू—ईसीजी, ईको, लिपिड प्रोफाइल, ब्लड सुगर टेस्ट, रक्तचाप मापन, लगायतका सम्पूर्ण परीक्षणहरू गरिएका थिए। साथमा, परीक्षण अनुसार आवश्यक औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो। स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक टोलीमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मजहर खान प्रमुख चिकित्सकको रूपमा सहभागी हुनु भएको थियो। त्यसबाहेक डा. खगेश्वर शाह, डा. जावेद अहमद खान, डा. जावेद अहमद लगायत अन्य चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
स्वास्थ्य परीक्षणका लागि आर्थिक अभावका कारण अस्पताल जान नसकेका धेरै बासिन्दाहरूले यस शिविरलाई जीवनमै पहिलो पटक स्वास्थ्य परीक्षण गराउने अवसरका रूपमा लिएका छन्। अति गरिब तथा दैनिक ज्यालादारीमा जीवन यापन गरिरहेका नागरिकहरूले शिविरबाट अत्यन्त राहत पाएको बताएका छन्। शिविरमा सहभागी एक वृद्धले भने, “धेरै दिनदेखि छाती दुख्थ्यो तर अस्पताल जाने पैसा थिएन। यहाँ परीक्षण पनि भयो, औषधि पनि पाइयो। अब शान्ति लाग्यो।”
शिविरमा सहभागी स्थानीय समाजसेवी र बासिन्दाहरू