काठमाडौं । लम्पी स्किन रोग संक्रमणका कारण गएको एक सातामा मात्रै १९ सय ४१ पशुको मरेका छन् । पशु सेवा विभागको आँकडाअनुसार २३ असारसम्म साढे २५ हजार पशु मरेका थिए । एकसाताको अवधिमा पशु मर्ने दर बढेर २६ हजार ९४१ पुगेको छ ।
हालसम्म संक्रमित ७ लाख ६४ हजार ६३८ पशुमा यो रोग देखिएको छ । सक्रिय संक्रमित पशु २ लाख ४४ हजार १५८ छन् । देशभर तीव्र गतिमा वैशाख महिनादेखि फैलिएको लम्पी स्किन रोगको उपचार र रोकथाममा सरकार निरीह बनेको पशु अधिकारकर्मीहरूले बताएका छन् ।
२०७७ साल असार १२ गते मोरङको सुन्दरहरैंचा नगरपालिका-११ का गाईबस्तुमा लम्पी स्किन रोगको लक्षण पहिलो पटक पुष्टि भए पनि यसले प्रकोपको रूप लिएको थिएन । पछिल्लो समय गर्मी सुरु भएपछि पशुमा तीव्र गतिमा यो रोग फैलिदा पशुसेवा विभागले पूर्व तयारी गर्न नसकेको सार्क क्षेत्रीय भेटेनरी एसोसियसनका महासचिव शितलकाजी श्रेष्ठले बताए ।
उनले भने, ‘लम्पी स्किन संक्रमणका कारण किसानका गोठ रित्तिएका छन् । न त सरकारले राहतको कार्यक्रम ल्यायो, न नियन्त्रणका लागि प्रयास नै गर्यो ।’ सरकारी अधिकारीहरू नै महामारीकै रूपमा बस्तुभाउमा यो रोग फैलिएको स्वीकार्छन् । तर,सरकारले लम्पी स्किनलाई महामारी भनेर घोषणा गरेको छैन ।श्रेष्ठका अनुसार लम्पी स्किन रोगको संक्रमण नियन्त्रण बाहिर गएकाले महामारी घोषणा गरी सहयोग माग्नुपर्छ ।