काठमाडौँ , नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।
उनले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताए । अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको सांसद शर्माको भनाइ छ ।
‘अर्थमन्त्री र गृहमन्त्रीले क्विन्टल क्विन्टल सुन थाहा नपाइकन उहाँहरूको मातहतका निकायका मानिसले थाहा नपाउने र आएर प्रधानमन्त्रीको कार्यालयले इन्टरभेन गरेर सुन समातिएको देखिन्छ, अब प्रधानमन्त्रीलाई त धन्यवाद दिनुपर्यो । उहाँ धन्यवादको पात्र हुनुहुन्छ, यो देशमा । तर नैतिकताका हिसाबले देशमा यत्रो सुन क्वीन्टल क्वीन्टल सुन छिर्दा थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन उहाँहरूले राजीनामा दिनुपर्छ की पर्दैन ?,’ सांसद शर्माले प्रश्न गरे ।
उनले अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृह मन्त्रालयको डिआईजीको नेतृत्वमा नेपाल प्रहरी विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा देख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल धन्यवादको प्राप्त भए पनि नैतिकताका हिसाबले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
उनले दुवैजना मन्त्रीले तत्काल राजीनामा दिइ अनुसन्धानलाई सहज बनाउनुपर्ने बताए ।