सिरहा । सिरहा र धनुषा जोडने बहुप्रतिक्षित कमला नदीको भत्केको पुलबाटै आवतजावत सुरु गरिएको छ ।
भत्केको कमला पुलबाट सर्वसाधारणहरुलाई बाँसको अस्थायी पुल बनाएर आवतजावत सुरु गराएको हो । यसअघि पनि सोही पुलबाट बाँसको सिढी चढदा प्रति व्यक्ति २० रुपैयाँ लिदै आएको थियो । कमला नदीमा पानी बढेपछि आवतजावत गर्न कठिनाई भएको बेला पुलबाटै मोटरसाईकल लिएर समेत जाने अवस्था बनाइएको हो ।
सिरहा नगरपालिकाले आम सर्वसाधारणको लागि बाँसको पुल मार्फत आवतजावत सहज बनाईदिएको हो । यसअघि केही स्थानीयहरुले सरकारी सम्पतिमा बाँसको पुल बनाएर लाखौँ रुपैयाँ असुली गर्दै आएका थिए । सार्वजनिक पुलको निर्माण गरी पूणर्तः निःशुल्क आवतजावत सहज बनाईदिएको हो ।
अब सिरहा आवतजावतको लागि पुलबाटै मोटरसाईकल, साईकल, पैदल यात्रा गर्न सकिने अस्थायी व्यवस्था बनाईदिएको हो । पुल मर्मतको कार्य आउँदो असाजदेखि पुनः सुचारु हुनेछ ।