जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक भारतीय नागरिकको स-परिवारलाई नेपाली नागरिकताको प्रमाण पत्र दिएको प्रकरणमा नक्कली बाउ खडा गरिएको पाईएको छ ।
धनुषाको नगराईन नगरपालिका वडा नं. ४ र वडा नं. ५ ठेगाना (साबिक) राखिएको दुवै वडाका उत्तिम महतो नामक कुनै व्यक्ति नै नरहेको पाईएको छ । न्यूज ब्यूरोको अपरेशनको क्रममा राजेन्द्र साह सुडि नामले लिएको नेपाली नागरिताधारीहरु भारतीय नागरिक रहेका छन् । उनीहरुले नक्कली बुवा खडा गरेर नेपाली नागरिकता लिएको खुलेको हो ।
आफू नेपाली नागरिक रहेको दाबी गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ बस्दै आएका भारतीय नागरिक राजेन्द्र साह सुडीले सबै परिवारलाई नेपाली नागरिकता दिलाएका छन् । यसअघि ५ जनालाई नेपाली नागरिकता दिलाएको खुलेकोमा अहिले उनका भाई र उनका परिवारहरुलाई समेत नेपाली नागरिकता बनाइएको पाईएको छ ।
नेपाली नागरिकता नम्बर ३९६९२४८० मा रामलखन साह सुडिले उत्तिम साह सुडिलाई बुवा बनाएर नागरिकता लिएका छन् । उनका भाई राजेन्द्र साह सुडीको नागरिकतामा समेत उत्तिम साह सुडी बुवाको नाम लेखिएको छ ।
राजेन्द्र साह सुडी र रामलखन साह सुडीको बुवा एउटै उल्लेख छ । तर, नगराईन नगरपालिकाको साबिक वडा नं. ४ र ५ मा उत्तिम साह सुडी नामक कोही व्यक्ति नै नभएको खुलेको छ । निर्वाचन आयोगको मतदाता नामाबलीमा समेत उत्तिम साह सुडीको नाम उल्लेख छैनन् ।
अपरेशनको क्रममा खोजबिन गर्दै जाँदा वर्तमान जनकपुरधाम उपहानगरपालिका वडा नं. ७ बस्दै आएका राजेन्द्र साह सुडी (भारतमा राजेन्द्र महतो) र जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ बस्दै आएका रामलखन साह सुडी (भारतमा रामलखन महतो) को बुवा एउटै हो । तर, सो नामका कोही व्यक्ति नै छैनन् ।