बुटवल । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणको अनुसन्धानमा आशंका व्यक्त गरेका छन् । भरियामात्रै समातेर सामसुम पार्ने विगतकै प्रवृत्ति देखा परिरहेको भन्दै पौडेलले गहिराइसम्म पुगेर अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताए ।
सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने र गहिराइमा गएर अनुसन्धान हुनुपर्ने उनको जोड थियो ।
प्रेस युनियन रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ? भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन । यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ ।’
पाैडेलले कांग्रेस पूर्ण र गहिरो छानविनको पक्षमा रहेको बताए ।