काठमाडौँ — रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले एकताको घोषणा गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै नागरिक उन्मुक्तिका नेता चौधरी र सद्भावनाका अध्यक्ष महतोले पार्टी एकताको घोषणा गरेका हुन् ।
उनीहरुले सबै उत्पीडित समुदायको सबैखाले पहिचान र अधिकार प्राप्तिको लागि संयुक्त संघर्ष गर्ने निष्कर्षसहित पार्टी एकताको प्रक्रियासम्म पुगेको बताएका छन् ।
एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै राख्ने सहमति गरेका छन् भने आगामी महाधिवेशनसम्म पार्टीको झण्डा, चुनाव चिह्न, छाप र विधानसमेत नागरिक उन्मुक्ति पार्टीकै प्रयोग हुने सहमति गरेका छन् ।
महाधिवेशन हुनुअघि पार्टीका केन्द्र, प्रदेश र स्थानीय तहसम्मै पार्टी संगठनहरु समायोजन गरिने दुई पार्टीको सहमति छ । ईकान्तिपुर