एजेन्सी । गत वर्षको अन्त्यतिर चिप्स तथा विज्ञान ऐन नै बनाएर चीन निर्यात हुने सेमिकन्डक्टर चिपलगायत प्रविधिमा अंकुश लगाउने घोषणा गरेको अमेरिकी सरकारले हाल यसमा थप कडाइ गर्ने भएको छ ।
अमेरिकी समाचार संस्था ब्लुमबर्गका अनुसार यही अगस्ट महिनाको मध्यतिर जारी हुने सम्भावना रहेको एक कार्यकारी आदेशमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनतर्फ निर्यात हुने प्रविधि र लगानीमा कडाइको घोषणा गर्ने तय भएको छ ।
पछिल्लो घोषणाले सेमिकन्डक्टर चिपसम्बन्धी प्रविधिसँगै आर्टिफिसियल इन्टेलिजेन्स र क्वान्टम कम्प्युटिङ क्षेत्रका विविध विषयहरूलाई समेट्नेछ । अगस्टमा घोषणा हुने भए पनि यो आदेश नीति निर्माणको रूपमा घोषणा हुने भएकाले सन् २०२४ बाट मात्रै कार्यान्वयनमा आउने विज्ञहरूको दाबी छ ।
अहिले जारी रहेका लगानीका क्षेत्रमा यो आदेशले उल्लेख्य असर नगर्ने भए पनि लगानीका विवरणहरू सरकारसामु खुलाउनुपर्नेछ । विद्यमान चिपसम्बन्धी ऐनका कारण चिसिएको अमेरिका–चीन व्यापार सम्बन्धमा यो आदेशको चर्चाले अझै चिसोपना थप्नेछ । ईमेज