काठमाडौं । नेकपा माओवादी केन्द्रले मंगलबारदेखि सुरू हुने केन्द्रीय समिति बैठक ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्ने निणर्य गरेपछि धेरैजसो नेताले असन्तुष्टि जनाएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई पदाधिकारी बैठकले अनुमोदन गरेको थियो ।
माओवादी केन्द्रले पहिलो पटक केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्न लागेको हो । यसअघि सत्तारूढ दल कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पहिलो पटक ‘लाइभ’ गरेको थियो । त्यसकै सिको गर्दै माओवादी केन्द्र पनि केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने तयारीमा जुटेको छ ।
कम्युनिस्ट पार्टीको महत्त्वपूणर् बैठक मानिने केन्द्रीय समिति बैठक सार्वजनिक गर्नु उपयुक्त नभएको नेताहरूले बताएका छन् ।
पूर्व विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सचिव गणेश साहले ‘लाइभ’ गर्ने विषयमा धेरै नेताको असन्तुष्टि रहेको बताए । ‘बढ्दो प्रविधिसँगै यसको उपयोग गर्नु ठिक हो । केही नेताहरू लाइभ गर्ने विषयमा सकारात्मक छन् । धेरैले पार्टीको आन्तरिक विषय बाहिर सार्वजनिक गर्नु ठिक नभएको बताएका छन् । बुधबार बस्ने स्थायी समिति बैठकमा यसबारे छलफल हुन्छ’, उनले भने ।
प्रविधिको प्रयोग गर्नु सकारात्मक भए पनि अहिलेको अवस्थामा पार्टीको आन्तरिक विषय बाहिर ल्याउन उपयुक्त नभएको उनको तर्क छ । भविष्यमा पार्ने प्रभावबारे गम्भीर छलफल नभइकन महत्त्वपूणर् बैठक ‘लाइभ’ गर्न नहुने पक्षमा आफू रहेको उनको भनाइ छ ।
यसैगरी ‘लाइभ’ गर्ने विषयमा पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले पनि असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ राख्दै उनले पार्टी बैठक घर, परिवार र जीवन भएकाले परिवारका अन्तरङ्ग छलफल ‘लाइभ’ गर्न नहुने उल्लेख गरेका छन् । ढुक्कसँग बोल्न र आनन्दसँग सुन्न पाउनुपर्ने उनको धारणा छ ।
‘पार्टी बैठक लाइभ हुनु हुँदैन, पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर, परिवारका अन्तरङ्ग छलफल लाइभ गर्ने विषय होइनन्’, उनले भने, ‘ढुक्कसँग बोल्न पाउनुपर्छ, आनन्दसँग सुन्न पाउनुपर्छ ।’