काठमाडौँ । क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्षले नमानेपछि प्रतिनिधिसभाको मंगलबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्ने भएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै प्रमुख प्रतिपक्षी एमालेका सांसद । तस्बिर ः अंगद ढकाल/कान्तिपुर
प्रतिनिधिसभाको बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले यो प्रकरणमा मन्त्री र प्रधानमन्त्रीकै संलग्नता भएको हुनसक्ने आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति नबन्दासम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान राखेको छ ।
सत्तापक्षका नेताहरुले भने सुन तस्करीबारे नियमित प्रक्रियाबाट नै छानबिन अघि बढीरहेकाले तत्काल उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको धारणा राखेका थिए । दुवै पक्ष आ-आफ्नो अडानबाट पछि नहटेपछि मंगलबारको बैठक पनि नियमित सञ्चालनमा बाधा पर्ने भएको छ । सोमबारको बैठक सूचना टाँसेर स्थगित भएको थियो ।
यसअघि गत साउन १० गते बसेको बैठकमा एमालेले छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो ।