विराटनगर । ठगी मुद्दामा सुनसरी जिल्ला अदालतको आदेशमा नौ महिनादेखि थुनामा रहेका इटहरी-१९ वरमपुर फूलबारी टोलका लालबहादुर विश्वकर्मा छुट्ने खबरपछि झुम्का कारागारमा बुधबार मानिसको चहलपहल अन्य दिनको तुलनामा बढी थियो ।
झुम्का कारागारबाट निस्कँदै लालबहादुर । लालबहादुरलाई उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको सयुक्त इजलासले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङ्याको २०७८ पुस १९ को आदेशलाई उल्टाउँदै मंगलबार अवैध वित्तीय कारोबार सञ्चाल र ठगी मुद्दामा सफाई दिँदै थुनामुक्त गर्ने आदेश दिएको थियो ।
मंगलबार अदालतको पत्र कार्यालय समयमा नपुग्दा उनी बुधबार छुट्ने हल्ला सर्वत्र फैलिएको थियो । लालबहादुरका परिवारका सदस्य बिहान १० बजेतिरै कारागार पुगेका थिए । त्यसपछि अन्य मानिस जम्मा हुनेक्रम बढ्यो ।
’नजिकबाट मैले पनि उनलाई देखेको थिइनँ । सर्वत्र चर्चा भएपछि मलाई पनि लालबहादुरलाई नजिकबाट हेर्ने उत्सुकता बढ्यो,’ कारागारका निमित्त प्रमुख कृष्ण सुवेदीले भने, ’अरुलाई उत्सुकता बढेर कारागारमा जम्मा हुनु स्वाभाभिक थियो ।’ अदालतको थुनामुक्त गर्ने पत्र मेलबाट आउनेबित्तिकै लालबहादुरलाई कारागारबाट बाहिर निकाल्ने प्रक्रिया सुरु गरिएको सुवेदीले बताए । उनलाई चौकीदार श्रीकुमार राई लगायतको टिमले कारागारबाट बिदाइ गरेका थिए । उनका अनुसार कारागारभित्र बिदाइ कार्यक्रम झण्डै दुई घण्टा चलेको थियो ।
लालबहादुर रिहाई भएको हेर्न तरहरा आसपासका उनका आफन्त र छिमेकी, इटहरी र झुम्काका सर्वसाधारण्को बाक्लो भीड कारागार परिसरमा थियो । त्यहाँ जम्मा भएकाहरुले लालबहादुर निर्दोष हुन् भन्दै विगतमा दबाबमूलक कार्यक्रम पनि गर्दै आएका थिए । उक्त कार्यक्रमका संयोजकसमेत रहेका किशन चौलागाईंले भने, ’अदालतकै कारण निर्दोष जेल परेको थियो, ढिलै भए पनि अदालतले नै उसलाई न्याय दियो ।’
इटहरी-२० तरहरामा २०७२ देखि कृष्ण विश्वकर्मा, दिपक गजमेर, कमल गजमेर र सीता विकले सञ्चालन गर्दै आएको सिंहदेवी ज्वेलर्समा २९ वर्षीय लालबहादुर ज्यालादारी काम गर्दै आएका थिए । ज्वेलर्सका चारैजना साहुसँग मिलेर लालबहादुरले इजाजत नलिई बैंक तथा वित्तीय संस्था सञ्चालन गरेर सर्वसाधारणको १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ठगी गरेको ठहर गर्दै सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङयाको २०७८ पुस १९ को इजलसले उक्त विगोसहित ठगी मुद्दामा जनही ७० हजार जरिवानासहित डेढ वर्ष थुनामा राख्ने आदेश दिएको थियो । त्यसक्रममा लालबहादुरको भागमा ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगो र ठगीमा ७० हजार जरिवाना र डेढ वर्ष जेल परेको थियो ।
उच्च अदालतको मंगलबारको आदेशले लालबहादुरले दुवै मुद्दामा सफाई पाएर कारागारमुक्त भएका छन् । त्यसैगरी ज्वेलर्स सञ्चालकमध्येका कृष्ण विश्वकर्मा र उनकी छोरी सीता विश्वकर्माले पनि इजाजत नलिई वित्तीय कारोबार गरेको मुद्दामा सफाई पाएका छन् । तर उनीहरुको हकमा ठगी मुद्दामा जिल्ला अदालतकै आदेशलाई उच्चले सदर गरेको छ । उनीहरुलाई ठगी मुद्दामा जनही ७० हजार जरिवाना र एक वर्ष ६ महिना थुनामा राख्ने सुनसरी जिल्ला अदालतको आदेश छ ।
त्यसैगरी ज्वेलर्स सञ्चालकमध्येका दिपक गजमेरको हकमा उच्च अदालतले सुनसरी जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । उनको हकमा बिनाइजाजत वित्तीय कारोबार गरेर १८ कराड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ठगी गरेको बिगो र ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना थुनामा राख्ने जिल्ला अदालत सुनसरीको आदेश छ ।
लालबहादुरले गत मंसिर २१ गते जिल्ला अदालतको फैसलाले आफू अन्यायमा परेको भन्दै उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । यसअघि तोकिएका आठवटा पेसीमा एक पेसीमा प्रत्यर्थी (झझी) झिकाउने, अर्कोमा प्रमाण झिकाउने आदेश हुँदा चारवटा पेसी हेर्न नमिल्ने र दुई स्थगित भएका थिए ।