काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको जनाएको छ । शुक्रबार राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको उल्लेख छ । रिपोर्टअनुसार अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Annual-data-of-2079.80
यसैगरी कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यस्तै विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । रिपोर्टअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ४७ खर्ब ९७ अर्ब पुगेको रिपोर्टमा उल्लेख छ ।