काठमाडौँ ,पछिल्ला दिनमा उद्योग सञ्चालनमा ल्याउन निकै कठिन बनेको छ । वर्षिक रुपमा उद्योग मुस्किलले ३/४ महिनामात्र चल्छ । अन्य समयमा उद्योग बन्द हुने गरेको छ । उद्योग बन्द हुँदा करडौं रकम घाटा व्यहोर्नु पर्ने बाध्यता त छँदैछ, त्यसमाथि उद्योगको दैनिक खर्च, कर्मचारीको तलब भत्ता र मेसिनरी औजारको मर्मत सम्भारको दायित्व पनि बढ्दो छ ।
उद्योगमा समस्या नहुँदासमेत सञ्चालनका लागि कठिनाइ परिरहेको छ । उद्योगका महाप्रवन्धक बसन्तराज पाण्डेका अनुसार आर्थिक अभावका कारण कोइला खरिद गर्न नसकेपछि उद्योग बन्द गर्नुपर्ने अवस्थामा छ ।
सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको उनले बताए । ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन नहुनु, दरबन्दी अनुसारको कर्मचारी नहुनु, प्रतिस्पर्धात्मक बजार लगायतका समस्याका कारण उद्योग सञ्चालनमा ल्याउन कठिन भइरहेको उनले बताए ।
पछिल्लो समय बिजुलीे खर्चमा समेत वृद्धि भइरहेको महाप्रवन्धक पाण्डेको भनाइ छ । बजारमा आएको आर्थिक मन्दीका कारण सिमेन्ट बिक्रीसमेत घट्दो क्रममा रहेकाले उद्योगले निरन्तर घाटा व्यहोरिरहेको उनले बताए ।